नक्कली मसीहाको उद्गीथ (A balada do falso Messias de Moacyr Scliar em nepalês.)
— मोआसीर स्लियर
अनुवादकः रंजन लेखी
साज, बाहिया, ब्राजिल
२२ जुलाई २०२४
ऊ गिलासमा रक्सी हाल्न गईरहेको छ । उसका चाउरी परेका हातहरु अहिले काँपिरहेका छन् । तर तिनीहरू अझै पनि मलाई प्रभावित गर्दैछन्, ती ठूला र बलिया हातहरू । म तिनीहरूलाई मेरो आफ्नै हातहरुसँग तुलना गर्दछु, तिनीहरूका छोटा तर बाक्ला औंलाहरू । र म स्वीकार गर्दछु कि उसलाई मैले कहिल्यै बुझ्न सकिनँ र शायद कहिल्यै बुझ्न सक्दिनँ होला ।
मैले उसलाई जेमलियामा पहिलो पटक भेटेँ । त्यो पुरानो जहाजमा, हामी यहूदीहरू रूस छोड्दै थियौं । हामीलाई नरसंहारको डर थियो । (लातिन) अमेरिकाले सहयोग गर्ने वाचाको साथ हामीलाई निमन्त्रण गरेको थियो, त्यसैले हामी त्यहाँ पुग्न तेश्रो दर्जामा बसेर यात्रा गर्दै थियौं । सन् १९०६ को कुरो हो, हामीले रोयौं र बान्ता ग¥यौं । हामी चढ्दा तिनीहरू पहिले नै जहाजमा उपस्थित थिए ।
शब्ताई ज्वी र गाजा (प्यालेस्टाईन) को नाथन । हामीले उनीहरूलाई बेवास्ता गर्यौं । हामीलाई थाहा थियो कि तिनीहरू पनि यहूदी थिए तर हामी रूसमा शंकास्पद थियौं । हामीलाई आफू भन्दा बढी प्राच्य (पूर्वीया) मान्छे मन पर्दैन थियो । र शब्ताई ज्वी एशिया माइनरको तुर्क थियो– तपाईंले उसको श्याम वर्णको त्वचा र कालो आँखा हेरेर बताउन सक्नुहुन्छ । कप्तानले हामीलाई भने कि उ धेरै धनी परिवारबाट थियो । वास्तवमा, उ र फिलिस्तिनी नाथनसँग मात्र जहाजमा एउटा राम्रो क्याबिन थियो । त्यसोभए उनीहरू किन (लातिन) अमेरिका जाँदै थिए त ? तिनीहरू किन भाग्दै थिए ? अनुत्तरित प्रश्नहरू थिए ।
फिलिस्तिनी नाथनको सानो कद र श्यामल त्वचाले मानिसहरुलाई, विशेष गरी हामीलाई, जिज्ञासा जगायो । हामीले एरेत्ज इजरायलको कुनै फिलिस्तिनी यहूदीलाई कहिल्यै देखेका थिएनौं – हामी मध्ये धेरैका लागि त्यो भूमी सपनामा मात्र अवस्थित रहेको थियो । फिलिस्तिनी नाथन, एक दम वाकपटु वक्ता थियो, श्रोताहरूलाई गलीलीका सहज डाँडाहरू, सुन्दर ताल किनरेट, गाजाको ऐतिहासिक सहर, जहाँ उ जन्मेको थियो र जसका ढोकाहरू शिमशोनले भत्काएका थिए भन्ने वर्णन गर्यो । तर मातेको अवस्थामा उसले आफ्नो मातृभूमिलाई धिक्कारथ्यो, ढुँगा र बालुवा, ऊँटहरू, चोर अरबहरूको देश भनेर । क्यानरी टापुहरू बाहिर, शब्ताई ज्वीले उसलाई एरेत्ज इजरायललाई सराप्दै समातेको थियो । रगत बगेसम्म उसले नाथनलाई भुँईमा लडाएर पिटेको थियो । जब नाथनले पनि प्रतिकार गर्ने हिम्मत गर्यो तब उसले नाथनलाई अन्तिम पटक लात्तीले हिर्काएको थियो ।
त्यसपछि उसले कसैसँग नबोली आफ्नो क्याबिनमा थुनेर दिन बितायो । जब हामी छेउबाट गयौं, हामीले रोएको, हिकहिक गरेको र मधुरो गीत गाएको सुन्यौं । एक बिहान, हामी नाविकहरूको चिच्याएको आवाज सुनेर उठ्यौं । हामी डेकमा दौडियौं र त्यहाँ शब्ताई ज्वीलाई चिसो समुद्रमा पौडी खेलिरहेको देख्यौं । तिनीहरूले लामो डुङ्गालाई तल झारे र कठिनाइले उसलाई पानीबाट निकाल्न सफल भए ।
ऊ पूर्णतया नाङ्गो थियो र त्यसरी नै ऊ हाम्रो छेउबाट हिँड्यो, टाउको उचालेर हामीलाई नहेरी आफूलाई केबिनमा कैद गर्यो । फिलिस्तिनी नाथनले भन्यो कि त्यो स्नान अध्यात्मिक अनुष्ठानको लागि थियो, तर हाम्रो निष्कर्ष फरक थियो – त्यो तुर्क सनकी थियो ।
हामीहरु रियो दि जेनेरियो (ब्राजील) को फूलहरुको द्वीप (Ilha das Flores) मा आइपुग्यौं, र त्यहाँबाट हामीहरु इरेक्सिमको यात्रा गर्यौं । त्यहाँबाट हामीहरुलाई गाडीमा चढाएर हाम्रो नयाँ घरहरूमा लगियो, ब्यारोन फ्रान्क भनिने धनी कोलोनीमा । हामीलाई प्रायोजित गर्ने एक अस्ट्रियाली परोपकारी सामाजिक अभियन्ताको सम्मानमा हामीहरु भेटन गयौं तर हामीहरुले उहाँलाई कहिल्यै भेटन सकेनौ । हामीहरु उहाँ महोदयप्रति धेरै नै आभारी थियौं । कोही–कोहीले भने कि रेलमार्ग त्यसै जग्गा भएर जाने छ जहाँ हामीलाई स्थापित गरिनेबाला थियो, जसबाट सेयरको मूल्य बढन सक्ने फ्रान्क ब्यारोनलाई चासो थियो रे । तर मलाई विश्वास लाग्दैन । मलाई लाग्छ ऊ राम्रो मान्छे थियो, अरु केही हैन । उहाँले प्रत्येक परिवारलाई जमिन, काठको घर, कृषि औजार र मवेशीहरू दिनुभयो ।
शब्ताई ज्वी र फिलिस्तिनी नाथन दुबै जना संग सँगै रहन लागे । उनीहरूलाई पनि एउटा घर दिइयो, यद्यपि ब्यारोनको प्रतिनिधिले उनीहरूलाई एउटै छानामुनि सँगै हेर्ने विचार मन परेको थिएन ।
“हामीलाई परिवार चाहिन्छ ।” उसले चिच्याएर भन्यो, “अपरिचत र अनौठा मान्छेहरु होईन ।”
शब्ताई ज्वीले उसलाई कडके आँखाले हेर्यो । उसको नजरमा यस्तो शक्ति थियो कि हामी स्तब्ध भयौं । ब्यारोनको एजेन्ट पनि काँप्यो, हामीलाई अलविदा भनेर हत्पत बाहिर निस्कयो ।
हामी पनि काममा लाग्यौं । अति कष्टकर थियो ग्रामीण जीवन ! रुख काटनु पर्ने । खन जोत गरेर रोपाइँ गर्नु पर्ने, हाम्रा हातहरु रगतले लतपतिएका हुन्थे ।
महिनौंसम्म हामीले शब्ताई ज्वीलाई देखेनौं । उ आफ्नो घरमा स्वैक्षिक कैद भएर एकान्तवास गरिरहेको थियो । फिलिस्तिनी नाथन गाउँमा वरिपरि घुमिरहेका थियो, कपडा र भोजनको लागि सहयोग माँगीरहेको थियो । उसले शब्ताई ज्वी चाँडै नै फर्कने र सम्पूर्ण जनतालाई शुभ समाचार दिने घोषणा गर्यो । “ऊ के गर्दैछ”, हामीले सोध्यौ ।
“के गर्दै हुनुहुन्छ उहाँले ? उहाँले अध्ययन गर्दै हुनुहुन्छ । उहाँले कबलाह, यहूदी रहस्यवादको उत्कृष्ट कृतिहरुः सृष्टिको पुस्तक (O Livro da Criação), प्रतिभाको पुस्तक (O Livro do Brilho), वैभवको पुस्तक (O Livro do Esplendor) को अध्ययन गरिरहेको हुनुहुन्छ। अनि गुढवाद (O ocultismo), आत्माको संसरण र अवातारशास्त्र (A Metempsicose), भूतदानव विद्या (A Demonologia), मन्त्रविद्या (जसले भूतात्मालाई आव्हान गरेर बोलाउन सक्छ र धपाउन पनि सक्छ, यही मन्त्रशक्तिले पानीमा खुट्टा नभिजाएर हिंडन सक्छ विभिन्न ऋद्धि सिद्धि देखाउन सक्छ आदि), अंकविज्ञान ज्योतिषशास्त्र आदि।
यसै बीचमा चिकु डियावो नामको नामी डाकू ब्यारोन फ्रैंकमा प्रकट भयो । उ आफ्नो ठूलो गीरोहको साथ अवास लार्गस (कुरिचिवा शहर भन्दा थोरै टाँढा) बाट भागेर हाम्रो गाँउको सीमामा आएर लुक्यो र ताण्डव मच्चाउन थाल्यो । हामीलाई लुटेर अय्यासी गर्दथ्यो र हाम्रो सम्पतिको नाश गर्दथ्यो । अट्हास् गर्दै हाम्रो मवेशीलाई कुट्थ्यो र उनका अण्डकोषहरु निकालेर भूटेर खाई दिन्थ्यो । र यदि हामीले अधिकारीहरुलाई यसको शिकायत गर्यौं भने हामीलाई जान मार्ने धम्की दिन्थ्यो । मानौं यो दूर्भाग्य हाम्रो लागि प्रयाप्त थिएन, ओलावृष्टि भएर गहुँबाली सखाप पार्यो र हाम्रा फलका वगान पनि खत्तम पार्यो । र साथै त्यहीँ समयमा शब्ताई ज्वी पनि गाँउमा देखाई पर्यो । हामी झन गहिरो निराशाको तालमा डूब्यौं ।
उसको रूपमा परिवर्तन भैसकेको थियो । उपवासले उसको बलियो शरीरलाई ध्वस्त पारेको थियो, उसका काँध र पाखुराहरु ढलेका थिए, शिथिल थिए उसको दाह्री, अहिले अनौठो रूपमा सेतो, छातीको आधा तल पुगेको थियो । पवित्रताले उसलाई ढाकेको थियो । उसको आँखामा तेज चमक आई सकेको थियो ।
उ बिस्तारै मुख्य सडकको अन्त्य सम्म आईपुग्यो । हामीहरु हाम्रा उपकरणहरू राख्यौं, हामी हाम्रा घरबाट निसस्कयौ र उसलाई अनुशरण गर्दै पछि लाग्यौ । माटोको ढिस्कोमा उभिएर, शब्ताई ज्वीले हामीलाई सम्बोधन गर्न थाल्यो ।
“ईश्वरीय दण्ड तिमीहरु माथि आई परेको छ ।”
उसले डाकू चिकु डियाबो र असिना तिर संकेत गरिरहेको थियो । हामीले भगवानको क्रोध भोगेका थियौं रे । अनि हामीले हाम्रा पापहरूको प्रायश्चित गर्नु पर्छ रे ।
उसको कथनानुसार, हामीले सबै कुरा त्याग्नु पर्छ । हाम्रा घरहरू, हाम्रा खेत र बाली, हाम्रा पाठशाला, र हाम्रो सभाघर । यसको बदला हामी आफैंले हाम्रा घरका काठ पात प्रयोग गरेर एउटा जहाज बनाउनेछौं, हाम्रो प्रार्थनाघरका पर्दाहरुहरूलाई पाल बनाउने छौं । हामी समुद्र पार गर्नेछौं । हामी प्यालेस्टाइन, एरेत्ज इजरायल पुग्नेछौं र त्यहाँ, पवित्र र पुरानो सहर स्फाटमा, हामी एउटा ठूलो भब्य मन्दिर निर्माण गर्नेछौं ।
“र के हामीले त्यहाँ मसीहको आगमनलाई पर्खनेछौं ?” – काँपिरहेको स्वरमा कसैले सोध्यो ।
— “मसीह आई सक्नुभएको छ !”— फिलिस्तीनी नाथन भीडमा चिच्यायो — “मसीह यहाँ हुनु हुन्छ ! हाम्रो मसीह उहाँ शब्ताई ज्वी हुनुहुन्छ !”
शब्ताई ज्वीले आफूले बेरेको लुगा खोल्यो । हामीहरु डरले पछि हट्यौं । हामीहरुले दागले ढाकिएको उसको नाङ्गो शरीर देख्यौं । उसको पेटमा, कीलहरुले भरिएको बेल्ट, जसको टुप्पो उसको मासुमा धँसेको थियो । त्यस दिनदेखि हामीले कहिल्यै काम गर्न गएनौं । असिनाले बालीनाली नष्ट भई नै सकेको थियो । चिकु डियाबोले जनावरहरू चोर्ने डर रहेन किनभने हामी जाँदै थियौं । हामीले सहर्ष हाम्रा घरहरू भत्कायौं । महिलाहरूले डुङ्गाको लागि पाल बनाउन कपडा सिलाई कटाई गर्न थाले । केटाकेटीहरूले जङ्गली फलहरू सङ्कलन गरेर संरक्षण गर्न थाले । फिलिस्तिनी नाथनले पैसा जम्मा गरे ताकि उसले पवित्र भूमिमा शासन गर्ने तुर्कीका शक्तिशालीहरूलाई घूस दिन सकोस् ।
“यी यहूदीहरूलाई के भइरहेको छ?” स्थानीय बासिन्दाहरूलाई खुल्दुली भई रहेको थियो । तिनीहरू यति उत्सुक थिए कि तिनीहरूले पादरी ब्यातिस्तेलालाई अनुसन्धान गर्न आग्रह गरे । पादरी पनि हामीलाई भेट्न आए । उहाँलाई हाम्रो कठिनाइहरू थाहा थियो र हामीलाई मद्दत गर्न इच्छुक हुनुहुन्थ्यो ।
“हामीलाई यसको आवश्यकता छैन, फादर !”, हामीले पूर्ण निर्दोषता साथ जवाफ दियौं । “हाम्रो मसीह आउनुभएको छ । उहाँले हामीलाई मुक्त गर्नुहुनेछ, उहाँले हामीलाई खुशी पार्नुहुनेछ ।”
“मसीह?” – पुजारी छक्क परे । — “मसीह पहिले नै पृथ्वीमा आएर गई सक्नु भयो ।
उहाँ हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्थ्यो, जसले पानीलाई मदीरामा परिणत गर्नुभयो र हाम्रा पापहरूका लागि क्रूसमा मर्नुभयो ।”
“चुप लाग्नुस्, फादर !”– संता चिच्याईन् – “शब्ताई ज्वी हाम्रो मसीह हो !” सन्ता, मोटो लीब रुबिनकी धर्मपुत्री छोरी थिईन् । उनी एउटा नररंहारमा आफ्ना आमाबालाई गुमाएकी थिईन् । उसको मन विचलित थियो । उसले शब्ताई ज्वीलाई जहाँ पनि अनुशरण गरेकी थिईन् । उसलाई विश्वास थियो कि उ चाँहि प्रभु मसीहको अभिषेकको लागि आरक्षित पत्नी हो । र हामीलाई अचम्म पार्दै शब्ताई ज्वीले उसलाई स्वीकार पनि गर्यो । हामीले जुन दिन डुङ्गाको पतवार तैयार पारेर समाप्त गर्यौं त्यसै दिन तिनीहरूको विवाह पनि सम्पन्न भयो । जहाँसम्म डुङ्गाको सवाल छ त्यो त एक दम राम्रो बनेको थियो । हाम्रो उद्देश्य त्यसलाई समुद्रमा लानु थियो । बेन्तो गोन्जालेसले डुङ्गा बोकेर तान्न आफ्नो ठूलो बैल गाडा तयार पारेको थियो, जसले समुद्रमा लैजान सकोस् ।
थोरै दिनको कुरो थियो । यस बीचमा चिकु डियाबो अब हरेक हप्ता देखा पर्न थाल्यो । एक पटक मा दुई वा तीन ठाँउमा डकैती गर्दथ्यो । कतिपयले ती डाँकाको सामना गर्ने कुरा पनि गरे । तर शब्ताई ज्वीले यो विचारलाई अनुमोदन गरेन । “हाम्रो राज्य समुद्र पारी छ । र परमेश्वरले हामीलाई हेर्दै हुनुहुन्छ । उहाँले सब उपलब्ध गराउनुहुनेछ ।”
न भन्दै केही दिनमा डाकु चिकु डियाबो पनि गायब भयो । दुई हप्तासम्म हामीले शान्तिपूर्वक काम गर्यौं, प्रस्थानको तयारीलाई अन्तिम रूप दियौं । त्यसपछि, एक शनिबार बिहान, एउटा घोडसवार गाउँमा आयो । उ गुमेरचिन्डो थियो, चिकु डियाबोको दायाँ हात ।
“चिकु डियाबो बिरामी छ !” – उसले घोडाबाट नओर्ली करायो “उहाँ धेरै बिरामी हुनुहुन्छ ।
डाक्टरले सही उपचार गर्न सकेन । चिको डियाबोले मलाई तिमीहरुको वैद्यलाई उहाँलाई निको पार्न ल्याउ भन्नु भएको छ ।”
हामीहरुले उसलाई चूपचाप भएर घेरेका थियौं ।
“र यदि ऊ आउन चाहँदैन भने” – गुमेरचिन्डोले भन्न जारी राख्यो – “हामीले पूरै गाउँलाई जलाउनु पर्छ । के तिमीहरुले सुन्दैछौ ?”
“म जानेछु ”– ठूलो आवाज करायो ।
त्यो शब्ताई ज्वी थियो । हामीले उसको लागि बाटो बनायौं । ऊ बिस्तारै नजिक पुग्यो, डाकुलाई हेर्दै भन्यो ।
“झर !”
गुमेरचिन्डोले आफ्नो घोडाबाट ओल्र्यो । शब्ताई ज्वी घोडामा चढ्यो ।
“अगाडि जानुहोस्, दौड ।”
ती तीन जना मध्येः पहिलो गुमेर्सिन्डो चाँहि दौड्दै, शब्ताई ज्वी घोडामा र फिलिस्तिनी नाथन चाँही गधामा सवार थिए । सन्ता पनि जान चाहन्थिन तर लीब रुबिनले उसलाई जान दिएन ।
हामी दिनभर स्कूलमा सँगै बस्यौँ । हामीले केही बोलेनौं, चूप थियांै, हाम्रो पीडा धेरै ठूलो थियो । जब रात पर्यो हामीले घोडाको टापको आवाज सुन्यौं । हामी ढोकातिर दौड्यौं । त्यो फिलिस्तिनी नाथन थियो, उसको साँस फुलेको ।
उसले साँस सम्हाल्दै भन्न थाल्यो, “हामीले चिकु डियाबोलाई भुइँमा लडिरहेको भेट्टायौं । उसको छेउमा, एक जना धामी झाँक्रीले झार फूक गदै थियो । हाम्रो मसीह शब्ताई ज्वी डाकूको छेउमा बस्नु भयो । उहाँले केही पनि भन्नु भएन, केही गर्नु भएन, डाँकालाई छुनु पनि भएन । मात्र त्यसलाई नियालेर बसी राख्नु भयो । अनि चिकु डियाबोले आफ्नो टाउको उठायो, हाम्रो मसीहलाई हेर्यो, चिच्यायो र मर्यो । डाँकाहरूले त्यहीँ त्यो झाँक्रीलाई मारे । मलाई मसीह शब्ताई ज्वी को बारे मा केहीं थाहा छैन । म भाग्दै यहाँ तिमीहरुलाई चेतावनी दिन आएको हुँ । भाग, यहाँबाट भागी हाल ।”
हामीहरु पनि गाडीमा चढयौं र इरेक्सिमतिर भाग्यौं । सन्तालाई बलपूर्वक लानु परेको थियो । भोलिपल्ट लीब रुबिनले हामीलाई भेला गर्यो ।
“मलाई थाहा छैन तपाईंहरुले के गर्न सोच्दै हुनुहुन्छ”, उसले भन्यो – “तर म यी सबै ब्यारोन फ्रान्क, प्यालेस्टाइन, स्फाटका कथाहरूबाट थाकी सकेको छु । म पोर्तो अलेग्रे जाँदैछु । के तपाईहरु मसँग जान चाहनुहुन्छ ?”
“अनि शब्ताई ज्वी?”, फिलिस्तिनी नाथनले काँपिरहेको स्वरमा सोध्यो (शायद पश्चातापको भावना थियो) ।
“ऊ नर्कमा जान सक्छ, त्यो पागल! ” — लीब रुबिनले चिच्यायो । – “उसले दुर्भाग्य मात्र ल्यायो ।”
“यस्तो कुरा नगर्नु बाबा !” – सन्ता पनि चिच्याईन — “उहाँ मसीह हुनुहुन्छ ।”
“के मसीह, केहि छैन यहाँ ! यो कथा बन्द गर । यसले अझै पनि विरोधीहरूलाई उत्तेजित गर्नेछ । पादरीले भनेको कुरा सुनेनौ ? मसीह पहिले नै आई सक्नु भएको छ, ठीक छ ? उहाँले पानीलाई रक्सी र अन्य चीजहरूमा परिणत गर्नुभयो । अब चूप । हामी जाँदैछौं । तिम्रो श्रीमान् यदि अझै जीवित छ भने र यदि उसको टाउको सलामत छ भने, उसले हामीलाई खोज्दै आउनेछ । तिम्रो हेरचाह गर्ने दायित्व मेरो हो र म तिम्रो हेरचाह गर्नेछु, तिम्रो पतिको साथ वा बिना !”
हामी पोर्तो एलेग्रेको यात्रा गर्यौं । त्यहाँका दयालु यहूदीहरूले हामीलाई शरण दिए । र नभन्दै हामीलाई चकित पार्दै, शब्ताई ज्वी पनि केही दिन पछि देखा पर्यो । उसलाई अबास लार्गासबाट ल्याइएको थियो, चिकु डियाबोको सम्पूर्ण गिरोहलाई गिरफ्तार गरिएको थियो ।
एउटा सिपाहीले हामीलाई भन्यो कि उनीहरूले शब्ताई ज्वीलाई चट्टानमा बसेर चिकु डियाबोको शवलाई हेर्दै भेटेका थिए । “रक्सी खाएर मातेका डाँकुहरू जमिनभरी छरपष्ट थिए, घुर्दै थिए । जताततै मारिएका गाईवस्तु थिए र रक्सी । मैले यति धेरै रक्सी कहिल्यै देखेको थिईन । पहिले पानी भर्ने सबै भाँडोहरुमा अब रक्सी भरेको थियो ! बोतलहरू, जर्किनहरू, बाल्टिनहरू, बेसिनहरू, ब्यारेलहरू सबैमा । नजिकैको पोखरीको पानी रातो थियो । मलाई थाहा छैन त्यो गाईवस्तुको रगत थियो कि रक्सी थियो । तर मलाई लाग्छ त्यो रक्सी नै थियो ।”
एक जना धनी आफन्तको सहयोगमा, लीब रुबिनले आफ्नो कपडाको पसल स्थापना गर्यो । त्यसपछि उनी रियल इस्टेटमा लाग्यो र पछि ठूलो सम्पत्ति जम्मा गर्दै फाइनान्स कम्पनी पनि खोल्यो । शब्ताई ज्वी उनको एउटा फर्ममा काम गर्न थाल्यो जहाँ म पनि जागिरे भएँ । फिलिस्तिनी नाथन तस्करीमा संलग्न भयो, भाग्नुपर्याे र फेरि कहिल्यै देखिएन ।
सन्ताको मृत्यु पछि, शब्ताई ज्वी र म अक्सर वारमा रक्सी पिउन भेट्छौं । अनि हामी रातभर त्यही बस्छौं । उ थोरै बोल्छ र म पनि कुरा गर्दिन । उसले रक्सी खन्याँउछ र हामी चुपचाप पिउछौं । मध्यरातमा उसले आँखा बन्द गर्छ, हातले गिलास समाती राख्छ र हिब्रू (वा अरमाइक, वा लाडिनो भाषा) का शब्दहरू गुनगुनाउँछ । रक्सी पानीमा परिणत हुन्छ । वार मालिकले यो केवल एक चाल हो भन्ने सोंच्दछ । जहाँसम्म मेरो कुरो छ, म मेरो सशँकित भावले मात्र हेर्छु ।
समाप्त
Português
English
Español